हस्तकला उद्योग व्यवसायको व्यवस्थित विकास तथा तिनको निकासी प्रबर्द्धन गर्न नेपाल हस्तकला महासंघले स्थापनाकालदेखि विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ। यस सन्दर्भमा हस्तकला क्षेत्रमा विद्यमान समस्या समाधान गर्न, हस्तकला उद्यमी व्यवसायीहरुको हित प्रबर्द्धन लगायत हस्तकलाको निकासीे प्रबर्द्धन तथा सहजीकरणका लागि महासंघले समयसापेक्ष आवश्यक पहल गर्दै आएको छ। यसै सिलसिलामा सरकारको आगामी बजेटमा हस्तकला क्षेत्रको समग्र विकास गर्न विद्यमान समस्या निराककरण तथा उपयुक्त नीतिगत व्यवस्थाका लागि हस्तकला उद्यमी व्यवसायी तथा निकासीकर्ताहरुबाट राय सुझावहरु संकलन गर्ने उद्देश्यले यस महासंघद्वारा २०६५ जेष्ठ ९ गते काठमाडौंमा पूर्व बजेट सम्बन्धी अन्तरक्रिया आयोजना गरियो। कार्यक्रमको प्रारम्भमा उपस्थित सबैलाई स्वागत गर्दै महासंघका अध्यक्ष श्री पुष्करमान शाक्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। यस क्रममा उहााले हस्तकला उद्यमी व्यवसायीहरुको आफ्नो अथक प्रयास तथा महासंघको पहलबाट हस्तकला क्षेत्र वर्तमान परिस्थितिसम्म पुग्न सफल भएको चर्चा गर्दै हस्तकलाको उत्थानमा सरकारको पहल एवं प्राथमिकता न्यून रहेको उल्लेख गर्नुभयो। यसैगरी वर्तमान अवस्थामा देशको विद्यमान परिस्थितिले गर्दा उद्योगपति, उद्यमी व्यवसायीहरु अशान्ति र समस्याबाट पूर्ण मुक्त हुन नसकेको चर्चा गर्दै आउने दिनमा हस्तकला क्षेत्रको प्रभावकारी विकास एवं निकासी प्रबर्द्धन गरी मुलुकको आर्थिक समुन्नतिका लागि बजेटमा के कस्तो व्यवस्था गर्नुपर्छ भन्ने सन्दर्भमा आ(आफ्नो राय सुझाव दिन आग्रह गर्नुभयो। कार्यक्रममा महासंघका महासचिव श्री धर्मराज शाक्यले महासंघले गत वर्षको अनभूति र सदस्यहरुको प्रतिक्रियाको आधारमा तयार गरिएको बजेट सम्बन्धी सुझावबारे प्रस्तुत गर्नुभयो। यस क्रममा उहााले औद्योगिक व्यवसाय ऐनमा घरेलु उद्योग, हस्तकला निकासीमा सरकारी दृष्टिकोण,औद्योगिक नीति, भारत निकासी समस्या, हस्तकला प्रबर्द्धन सहयोग, मूल्य अभिबृद्धि कर, आयकर, कच्चा पदार्थको सहज पैठारी व्यवस्था सम्बन्धमा सरकारले गर्नुपर्ने पहल सम्बन्धमा महासंघको धारणाबारे प्रस्तुत भई तत् सम्बन्धमा कार्यक्रमका सहभागीहरुबीच छलफल भएको थियो भने त्यसमा छुटेका र हस्तकला उद्योग व्यवसायको व्यवस्थित विकासका लागि सरकारले गर्नुपर्ने पहलबारे आ(आफ्ना विचार तथा सुझावहरु प्रस्तुत गरेका थिए। उक्त अवसरमा सहभागीहरुले देशमा उद्योग व्यवसायको सुसंचालनका लागि दीगो शान्ति बहालि, उपयुक्त मैत्री औद्योगिक वातवरण तथा समयसापेक्ष वाणिज्य नीतिको तर्जुमा हुनुपर्नेमा जोड दिइयो। सो क्रममा महासंघका कार्यसमिति सदस्य एवं उद्योग समितिका सभापति श्री वेदराज ज्ञवालीले पनि हस्तकला उद्योग व्यवसायको प्रबर्द्धनका लागि आउने बजेटमा समावेश गर्नुपर्ने सन्दर्भमा संकलित सुझावहरु बुादागत रुपमा प्रस्तुत गर्नुभयो। सहभागीहरुबाट व्यक्त विचार तथा सुझावहरुको समीक्षा गर्दै महासंघका अध्यक्षज्यूले हस्तकलाको समग्र विकासका लागि सरकारले तत्काल गर्नुपर्ने व्यवस्था तथा तर्जुमा गर्नुपर्ने नीति सम्बन्धी संयुक्त सुझाव संकलन गर्न प्रस्तुत कार्यक्रमको आयोजना गरिएको बताउादै यसको उपयुक्त कार्यान्वयनका लागि महासंघले सरकारको सम्बन्धित निकायमा पेश गरिने बताउनु भयो। अन्तमा कार्यक्रममा सक्रिय सहभागी भई आउने दिनमा समग्र हस्तकलाको प्रबर्द्धनका लागि प्रभावकारी एवं रचनात्मक सुझावहरु दिनु भएकोमा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै यस महासंघका प्रथम उपाध्यक्ष श्री विकासरत्न धाख्वाले विगतका वर्षमा पेश भई कार्यान्वयन नभएका विषयमा समेत उल्लेख गरी उपयुक्त सुझावहरु आवश्यक कार्यान्वयनका लागि सरकारको सम्बन्धित निकायमा पेश गरिने बताउनु भयो। महासंघको निर्यात समिति, उद्योग समति तथा राजश्व समितिद्वारा संयुक्त रुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा महासंघका पदाधिकारी, कार्य समिति सदस्यहरु, विभिन्न समितिका सदस्यहरु, महासंघका संस्थागत सदस्य संघका प्रतिनिधिहरु लगायत हस्तकला निकासीकर्ताहरु गरी ३० जनाभन्दा बढीको सहभागिता रहेकेा थियो। देवराज बज्राचार्य सहायक सचिव |