नेपाली हस्तकला वस्तु भारत निकासी प्रक्रिया सम्बन्धी गोष्ठी नेपाली हस्तकला वस्तुको मौलिकपन एवं कलात्मक विशेषताले गर्दा स्वदेश तथा विदेशमा नेपाली हस्तकला वस्तुप्रति निकै उपभोक्ताहरु आकर्षित भएको पाउँछौं। यसै कारण नेपाली हस्तकलाका विविध वस्तुहरु विश्वका ७० भन्दा बढी मुलुकहरुमा निकासी गर्न व्यवसायीहरु सफल भएको पाइन्छ। यस क्रममा नेपाली हस्तकलाका वस्तुहरु भारतमा पनि अत्यधिक निकासी भइरहेका छन्। महासंघको निकासी तथ्यांक अनुसार आ.व. २०६२/६३ र २०६३/६४ मा रु. ५,१३,६०,६०८। र रु. ४,७७,८२,१०१। बराबरको हस्तकलाका वस्तुको निकासी भएको पाइन्छ। निकासी प्रक्रिया सम्बन्धी अन्यौल, जटिलता एवं भन्सारमा हुने अनावश्यक झन्झट तथा असहज परिस्थितिले गर्दा समय समयमा हस्तकलाका वस्तु भारत निकासीको क्रममा समस्या पर्ने गरेको बताइन्छ। यसै सन्दर्भमा यस महासंघको निर्यात समितिको संयोजनमा २०६५ आषाढ १९ गते काठमाडौंमा नेपाली हस्तकला वस्तुको भारत निकासी प्रक्रिया सम्बन्धी गोष्ठी आयोजना गरियो। प्रारम्भमा उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्दै यस महासंघका अध्यक्ष श्री पुष्करमान शाक्यले हस्तकलाको व्यवस्थित विकास तथा निकासी प्रबर्द्धनका लागि महासंघले निर्वाह गर्दै आएको भूमिका र कार्यहरुबारेमा प्रकाश पार्नुभयो। सो क्रममा नेपाल भारतबीच धेरै पहिलेदेखि आपसी व्यापार तथा वाणिज्य गतिविधिहरु संचालन हुँदै आएको चर्चा गर्दै विभिन्न समयमा आइपर्ने भारत निकासी समस्या फुकाउन तथा भारत निकासी सहजीकरणका लागि महासंघबाट पहल हुँदै आएको र वर्तमान परिप्रेक्ष्यमा भारत निकासीमा विद्यमान समसायिक समस्या पहिचान गरी सहज रुपमा नेपाली हस्तकलाका वस्तुको भारत निकासी प्रबर्द्धनमा टेवा पुर्याउन प्रस्तुत कार्यक्रमको आयोजना गरेको बताउनुभयो। यस क्रममा उहाँले कार्यक्रममा सक्रिय सहभागी भई भारत निकासी सहजीकरणका लागि उपयुक्त सुझाव दिन सहभागीहरुलाई आग्रह गर्नुभयो। यसैगरी कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस महासंघका कार्य समिति सदस्य एवं निर्यात समितिका सभापति श्री हरिबहादुर कार्कीले गोष्ठीको क्रममा भारत निकासी सम्बन्धी विद्यमान समस्या, समाधान उपाय एवं अनुभव व्यक्त गर्न समेत अनुरोध भयो। उक्त गोष्ठीमा विषयगत प्रस्तुत गर्दै नेपाल उद्योग वाािणज्य महासंघका वरिष्ट प्राविधिक सल्लाहकार श्री प्रियदर्शन शर्माले नेपाली वस्तुहरु निकासीको क्रममा जारी हुने उत्पत्तिको प्रमाणपत्रको बारेमा विस्तृत जानकारी गराउनुभयो। सो क्रममा उहाँले नेपाल भारत व्यापार सन्धी अनुरुप प्रक्रियागत फर्म भरी निकासी गरेकोमा रियायती सुविधा पाउने चर्चा गर्दै नेपाली कच्चा पदार्थ प्रयोग गरी उत्पादित हस्तकलाको वस्तु भारत निकासी गर्दा कुनै समस्या नपर्ने बताउनु भयो। उहाँले उत्तपत्तिको प्रमाणपत्र जारी गर्दा आवश्यक आवेदन फाराम र लागत फर्मबारेमा जानकारी गराउनु भयो। उक्त अवसरमा उद्योग विभागका निर्देशक श्री रमेश स्थापितले हस्तकला वस्तु भारत निकासीको क्रममा आवश्यक सामानमा प्रयोग भएको कच्चा पदार्थको प्रतिशत खुल्ने फाराम सम्बन्धी जानकारी गराउनु भयो। साथै उहाँले सन्धीमा उल्लेखित प्रक्रियालाई अनधिकृत रुपमा तलमाथि गर्न नमिल्ने बताउँदै निकासीको क्रममा विद्यमान समस्याहरु बुँदागत रुपमा संकलन गरी तिनको समाधानका लागि सम्बन्धित निकायमा पेश गर्नुपर्ने बताउनुभयो। तत्पश्चात कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शसका प्रतिनिधि श्रीमती दिपा चित्रकारले हस्तकलाका वस्तुको हार्मोनाइज कोड सम्बन्धमा जानकारी प्रस्तुत गर्नुभयो। यस क्रममा उहाँले भारत निकासीको क्रममा व्यवसायीहरु आवश्यक प्रक्रिया र प्रावधान सम्बन्धमा सचेत एवं स्पष्ट हुनुपर्ने औल्याउँदै हस्तकला वस्तुहरुमा के के पर्छ स्पष्ट हुनुपर्ने बताउनु भयो। तत्पश्चात भएको खुल्ला छलफलको क्रममा सहभागीहरुले भारत निकासीको क्रममा भन्सार बिन्दुहरुमा अनावश्यक झमेला गरी दुःख दिने गरेको, भारतबाट सहज रुपमा भारतीय वस्तुहरु नेपालमा आउने गरेको र प्रक्रियागत स्पष्टताको अभावमा नेपाली वस्तुहरु भारत निकासी कठिन हुने गरेको प्रतिक्रिया व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा सरकारको सम्बन्धित निकायहरुले समयमा प्रभावकारी पहल अघि बढाउनुपर्नेमा जोड दिइयो। यसमा नेपाल भारत चेबर अफ कमर्स, नेपाल भारत मैत्री संघबाट पनि सकारात्मक पहल हुनुपर्ने औल्याइयो। अन्तमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने श्रोतव्यक्तिहरु, सहभागीहरु तथा सम्बद्ध सबैमा धन्वाद ज्ञापन गर्दै यस महासंघका प्रथम उपाध्यक्ष श्री विकासरत्न धाख्वाले सरकारले ठुलो उद्योगको समस्या मात्र सुन्ने, सानो उद्योगलाई वेवास्ता गर्न नहुने धारणा राख्दै भारत निकासीको क्रममा विद्यमान समसामयिक समस्या फुकाई निकासी सहजीकरणका लागि सशक्त पहल गर्नुपर्नेमा जोड दिनुभयो। गोष्ठीको क्रममा सहभागीहरुबाट व्यक्त समस्या समाधान गर्न सरकारको सम्बन्धित निकायमा पहल गर्नुका साथै भारतीय राजदूतावासका काउन्सिलरसंग आवश्यक भेटवार्ता गर्ने समेत उहाँले बताउनुभयो। उक्त कार्यक्रममा महासंघका पदाधिकारी, कार्य समिति सदस्यहरु तथा निकासीकर्ताहरु गरी करीब ३५ जनाको उपस्थिति रहेको थियो।
|