इ कमर्स सम्बन्धी गोष्ठी संचालन विद्युतिय संचार माध्यमको विकास तथा प्रयोगबाट आज विश्वका हरेक मुलुक, बजार, संघ संस्था तथा व्यक्तिहरुलाई एक आपसमा धेरै नजिक्याएको छ। इन्टरनेट, ईमेल, वेबसाइटको विकास एवं व्यवस्थाले गर्दा विश्वका कुनै पनि संस्थाको बारे जानकारी हासिल गर्न, आपसमा पत्राचार एवं सूचना आदान प्रदान गर्न छिटो छरिटो एवं सहज तुल्याउनुका साथै व्यापार तथा निकासी प्रबर्द्धन गर्न ठूलो सहयोग पुर्याएको छ। यस क्रममा विश्वमा व्यापार एवं वाणिज्य गतिविधिहरु विद्युतीय माध्यमबाट व्यवस्थित रुपमा संचालन गर्न ई कमर्स प्रणाली शुरु भईसकेको छ। यस सन्दर्भमा महासंघका सदस्य एवं हस्तकला व्यवसायमा संलग्न उद्यमी तथा निकासीकर्ताहरुलाई ई कमर्सको महत्व, प्रक्रिया, प्रयोग एवं यस सम्बन्धी विविध जानकारी गराउने उद्देश्यले यस महासंघ र नेपाल निर्यात परिषदको संयुक्त आयोजना एवं महासंघको निर्यात समितिको संयोजनमा २०६५ आषाढ २९ गते ललितपुरमा एक कार्यक्रमबीच ई कमर्स सम्बन्धी दुई दिने गोष्ठी शुभारम्भ गरियो। महासंघका अध्यक्ष श्री पुष्करमान शाक्य र नेपाल निर्यात परिषद्का नि.वर्तमान अध्यक्ष श्री यज्ञनारायण गुप्ताज्यूको प्रमुख आतिथ्यमा उद्घाटन सम्पन्न भयो। उक्त कार्यक्रममा सम्बन्धित उद्यमी व्यवसायीहरु १८ जनाको सहभागिता रहेको छ। उक्त अवसरमा उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्दै महासंघका अध्यक्षज्यूले वर्तमान विश्व व्यापीकरणको युगमा व्यवसाय तथा निकासी प्रबर्द्धनका लागि सूचना प्रविधिको प्रयोग र ई कमर्स अपरिहार्य भएको बताउँदै गोष्ठीको क्रममा समय सापेक्ष सीप र ज्ञान हासिल गर्न आग्रह गर्नु भयो। नेपालमा विद्युतिय संचार माध्यमबाट व्यवस्थित रुपमा व्यापार संचालनका लागि बैंक लगायत विभिन्न क्षेत्रबाट पहल हुँदै आएको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न उहाँले आग्रह समेत गर्नुभयो। सो क्रममा महासंघका कार्य समिति सदस्य एवं निर्यात समितिका सभापति श्री हरिबहादुर कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै निकासी प्रबर्द्धनको क्रममा व्यवसायीहरु समयसापेक्ष विकास भएको प्रविधि तथा वाणिज्य प्रणालीसंग परिचित हुनुपर्ने औल्याउँदै ई कमर्स सम्बन्धी विस्तृत जानकारी गराउन प्रस्तुत कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। उक्त अवसरमा हस्तकला वस्तुको निकासी प्रबर्द्धन उपयोगी समय सापेक्ष विषयमा महासंघसंग सहकार्य गरी यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष श्री यज्ञनारायण गुप्ताले कार्यक्रमबाट सहभागीहरुमा ई कमर्स सम्बन्धी ज्ञान एवं सीप अभिबृद्धि भई हस्तकलाको निकासी प्रबर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्नुभयो। यस क्रममा कार्यक्रमका श्रोत व्यक्ति श्री सुरेन्द्र शाहीले कार्यक्रमको विषयवस्तु र संचालन प्रक्रियाबारे सहभागीहरुलाई जानकारी गराउनु भयो। २०६५ आषाढ ३० गतेसम्म संचालन हुने उक्त गोष्ठीमा सहभागीहरुलाई हस्तकलाको बजार तथा निकासी प्रबर्द्धनका लागि बेबसाइट निर्माण, ई कमर्सको महत्व, उपयोग, यस सम्बन्धी उपलब्ध श्रोतहरु, बजार खोजी तथा बिक्री वितरण तरीका, भुक्तानी प्राप्ती तथा पठाउने प्रक्रियाबारे जानकारी गराइने छ। यस क्रममा सहभागीहरुलाई हाल व्यवहारमा संचालन हुँदै आएको अन लाइनबाट क्रेडिट कार्डबाट भुक्तानी लिने दिने प्रणाली र वस्तुको ढुवानी प्रक्रियाबारेमा बैंक अफ काठमाडौं र डि.एच्.एल.का विज्ञहरुबाट जानकारी गराइनेछ। ऋषिराज सुवेदी सहायक सचिव |