Circulars
Export Stastics
Subscribe Newsletter

Your Email


   
Press Releases
Details of Press Release

नेपाल हस्तकला महासंघद्वारा हस्तकला क्षेत्रका लघु उद्यमी/उत्पादकहरुबाट उत्पादित सामानहरुको बजार विकासमा सहयोग पुर्‍याउृने उद्देश्यबाट २०६५ कार्तिक ३ देखि ९ गते सम्म महासंघको भवन थापाथली हाइटमा आयोजित हस्तकला प्रवर्द्धन सप्ताह (क्रेता विक्रेता भेटघाट कार्यक्रम) को आज एक विशेष समारोहका बीच माननीय उद्योग मन्त्री श्रीमती अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नु भयो।  

उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय मन्त्रीज्यूले हस्तकला देशभर विस्तार गर्न सकिने उद्योग व्यवसाय भएकोले यसको विकासमा सरकारले उचित ध्यान दिने बताउनु भयो। उहाँले विदेशी पर्यटकलाई लक्षित गरी नेपाल हस्तकला महासंघले पर्यटन गन्तव्यको रुपमा विकास गर्ने सोच राखेको हस्तकला ग्रामको पूर्वाधार विकासमा सरकारले सहयोग पुर्‍याउने आश्वासन दिनु भयो। उहाँले सम्बन्धित सबै सरोकार वालाहरुको राय सल्लाह र सुझाव लिई नयाँ औद्योगिक नीति तर्जुमाको लागि उद्योग मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको वताउनु भयो। उहाँले विगतमा जस्तो कार्यक्रमहरुमा आश्वासन दिने तर कार्यक्रममा व्यक्त गरिएका आश्वासन कार्यान्वयन तहमा नआउने परिपाटीलाई वर्तमान सरकारले अन्त्य गर्ने कुरामा उद्यमी व्यवसायीहरुलाई आस्वस्त पार्नु भयो।  साथै हस्तकला क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि महासंघ लाग्नु पर्नेमा जोड दिदै समय सापेक्ष नीतिको तर्जुमा गर्न सरकार लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।  

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल हस्तकला महासंघका अध्यक्ष श्री पुष्करमान शाक्यले सरकारले सहयोग जुटाई दिएको अवस्थामा महासंघले युवाहरुको स्वरोजगारी विकासका लागि जिल्ला जिल्लामा व्यवसायिक प्रशिक्षण संचालन गर्ने वताउनु भयो। त्यस किसिमका प्रशिक्षणबाट युवाहरु श्रमिकको रुपमा विदेशिन र रोजगारीको लागि शहर पलायन हुनबाट रोकिने बताउनु भयो। त्यसैगरी उहाँले थोरै पूँजी,    स(सानो सरल प्रविधि प्रयोग गरी उत्पादन गर्न सकिने हस्तकला व्यवसायलाई देशभर विकास गर्ने प्रशस्त संभावना रहेको चर्चा गर्नु भयो।   

उक्त समारोहमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री भाष्करराज राजकर्णिकारले नेपाल उद्योग वाणिज्य महासंघबाट सरकार समक्ष प्रस्तुत विभिन्न नीतिगत विषयबस्तु माथि चर्चा गर्नु भयो। उहाँले उपहार सामानको रुपमा हस्तकला सामान प्रयोग अनिवार्य गर्न सरकारले आवश्यक नीति तर्जुमा गर्न माग गर्नुभयो। समारोहमा महासंघका द्वितीय उपाध्यक्ष श्री हेमरत्न शाक्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य माथि नेपाल हस्तकला महासंघका महासचिव तथा हस्तकला प्रवर्द्धन सप्ताहका सभापति श्री धर्मराज शाक्यले प्रकाश पार्नु भएको थियो। 

२०६५ कार्तिक ३ गते सम्पन्न सुनचाँदी गरगहना तथा बस्तुको क्रेता विक्रेता भेटघाट कार्यक्रम सम्बन्धित १४ विक्रेताहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा विक्रेताहरुद्वारा गुणस्तरीय तथा उत्कृष्ट डिजाइनका बस्तुहरुको प्रदर्शन गरिएको थियो भने दिनभरिमा करीब १५० भन्दा बढी क्रेताहरुले उत्साहप्रद रुपमा कार्यक्रम अवलोकन गरी व्यापारिक सम्बन्ध तथा सम्पर्क विकास गरिएको थाहा भएको छ।   

 

ऋषिराज सुवेदी
सहायक सचिव