स्वदेशी सीप एवं श्रोत साधनको अत्यधिक उपयोग हुने स्वरोजगारमूलक उद्योगहरुमा हस्तकला एक प्रमूख उद्योगको रुपमा रहिआएको छ। राष्ट्रको परम्परागत सीप तथा सम्पदाको धरोहरको रुपमा रहेको हस्तकला उद्योगले धेरैलाई स्वरोजगारको अवसर प्रदान गरी देशको आर्थिक स्तर उकास्न योगदान पुर्याउँदै आएको छ। विभिन्न हस्तकला मध्ये धातुकला, मुर्तिकला एवं सेरामिक बस्तू उत्पादन गर्न कच्चा पदार्थको साथै प्रशस्त मात्रामा बिद्युत, डिजेल, पेट्रोल, कोइला, गोल आदि उर्जाको आवश्यकता पर्दछ। प्रयोग गर्दै विभिन्न प्रकारको भत्ती तथा चुलोहरु संचालन गरी आएको पाइन्छ। हस्तकला वस्तु उत्पादनको क्रममा उर्जा/इन्धनको व्यवस्थित एवं बचत हूने गरी प्रयोग गर्न सकिएमा वस्तुको लागत घटाई प्रतिस्पर्धी बन्न सकिने छ। यस सन्दर्भमा हस्तकला लगायत वस्तु उत्पादनको क्रममा संचालित औद्योगिक भत्ती (फर्नेस) हरुमा सुधार ल्याउन तथा यसको प्रभावकारी प्रयोगका सम्बन्धी महत्वपुर्ण जानकारी प्रदान गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ र उद्योेग मन्त्रालय अन्तर्गतको औद्योगिक उर्जा प्रबर्द्धन आयोजनाद्वारा संयूक्त आयोजनामा २०६६ पौष २७ गते काठमाडौमा औद्योगिक भत्ती (फर्नेस) सुधार एवं प्रभावकारी प्रयोग सम्बन्धी एक चेतनामूलक गोष्ठी आयोजना गरियो। महासंघका अध्यक्ष श्री विकासरत्न धाख्वाको सभापतित्व एवं उद्योग राज्यमन्त्री श्री दानबहादुर चौधरीको प्रमूख आतिथ्यमा उद्घाटन सम्पन्न उक्त गोष्ठीमा धातुकला, मूर्तिकला तथा सेरामिक विधामा संलग्न करीब ३० जना उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो। महासंघको उद्योग परीषदको संयोजनमा आयोजित यस गोष्ठीको संचालन महासंघका उपाध्यक्ष एवं परीषदका सभापतिले गर्नुभयो।
प्रारम्भमा उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्दै यस महासंघका अध्यक्षबाट नेपाली हस्तकलाको महत्वबारे विवेचना गर्दै यसको समयसापेक्ष विकास एवं प्रबर्द्धनका लागि महासंघबाट निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पार्नुभयो। यस क्रममा गुणस्तरीय हस्तकला वस्तु उत्पादन गरी निकासी प्रबर्द्धनका महासंघले नेपाल सरकार समेतको सहयोगमा चाँदीमा क्याडमियम परीक्षण प्रयोगशाला स्थापना गर्न लागेको बताउँदै हस्तकला ग्राम स्थापना एवं बृहत हस्तकला प्रदर्शन कक्ष संचालनका लागि समेत आवश्यक सहयोग गर्न सरकारसंग आग्रह गर्नुभयो। साथै उहाँले हस्तकलाको उत्पादन लागत कम गरी प्रतिस्पर्धीक्षमता अभिबृद्धि गर्न गोष्ठीको क्रममा महत्वूर्ण जानकारी हासिल गर्न समेत आग्रह गर्नुभयो। उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै माननीय उद्योग राज्यमन्त्रीले कला र संस्कृतिकोे सर्वत्र कदर एवं सम्मान हूने चर्चा गर्दै नेपालको मौलिकता बोकेको हस्तकला क्षेत्रको प्रबर्द्धनका लागि सरकार सदैब सकारात्मक रहेको बताउँदै हस्तकलाको सहज उत्पादनका लागि औद्यागिक भत्तीको सामयिक सुधार एवं प्रभावकारी प्रयोगका लागि गोष्ठी उपलब्धीमुलक हूने बताउनू भयो। साथै उहँाले गुणस्तरीय हस्तकला उत्पादनका लागि हस्तकला परीक्षण प्रयोगशाला स्थापना कार्यको चाँडो कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नूभयो। उक्त अवसरमा औद्योगिक उर्जा प्रबर्द्धन आयोजनाका प्रमूख एवं श्रोतव्यक्ति श्री कमल मानन्धरले गोष्ठीको महत्व र विषयवस्तूबारे जानकारी प्रस्तूत गर्नूभयो।
गोष्ठी उद्घाटनको अन्तमा धन्यवाद ज्ञापन गर्दै महासंघका उपाध्यक्ष श्री हरिबहादुर कार्कीले प्रमुख अतिथि लगायत सह आयोजक उद्योग मन्त्रालय, श्रोतव्यक्ति, सहभागी उद्यमी व्यवसायी तथा सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्नुभयो। गोष्ठीका क्रममा श्रोतव्यक्तिहरु श्री कमल मानन्धर, श्री भीष्म पण्डित तथा श्री राजिव थापाले क्रमशः औद्योगिक भत्तीको विविध पक्ष, मुर्तिकला एवं सेरामिक भक्ती सुधार उपाय र औद्योगिक उर्जा व्यवस्थापन एवं बचत सम्भाव्यताबारे जानकारी प्रस्तुत गर्नु भएको थियो। गोष्ठीबाट प्राप्त जानकारीबाट हाल प्रचलनमा रहेको भत्तीहरुमा सुधार आई हस्तकला बस्तुको उत्पादकत्व अभिबृद्धि हुने अपेक्षा गरिएको छ।